पर्यटकीय शहर पोखरामा ‘कोरोना कहर’

 

चैत्र २- देशकै पर्यटकीय सहर भनेर चिनिने पोखराको लेकसाइड यतिबेला सुनसान बनेको छ । विश्वभर फैलिएको कोरोना भाइरसका कारण यात्रामा प्रतिबन्ध लगाइएपछि पर्यटकको सङ्ख्या न्युन भएको हो । 

अधिकांश विदेशी पर्यटकले भरिभराउ हुने पोखरा यतिबेला सुनसान छ । अंग्रेजी महिना मार्च, अप्रिल, मेमा पर्यटक आउने सिजन भए पनि यतिबेला भारतीय पर्यटकबाहेक अरू कमै मात्रामा देख्न सकिन्छ ।  

ट्रेकिङ ऐजेन्सी एसोसिएसन अफ नेपाल टानका अध्यक्ष हरि भुजेलले कोरोना भाइरसका कारण सिजनकै समयमा पर्यटक नआउँदा पर्यटन व्यवसायी ठूलो मारमा परेको बताउनु भयो । सरकारले नोटिस जारी गरेर भिसा बन्द गरेकेले आउँदै गरेका पर्यटक पनि बुकिङ रद्द गरेको भुजेलले बताउनुभयो । 

पर्यटन व्यवसायमा ठूलो धक्का खेप्नु परेको भन्दै भुजेलले सरकारले बैङ्कको ब्याज घटाउने र पर्यटन क्षेत्रमा भएको लगानीलाई बैङ्क तथा व्यवसायीलाई असर नपर्ने गरी केही समयपछि तिर्ने खालको व्यवस्था गर्नसमेत माग गर्नुभयो । 

पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले सरकारले बाहिरबाट आउनेलाई एयरर्पोटभित्र छिर्दा मात्रै पनि १४ दिन क्वारेन्टाइनमा बस्न लगाएपछि पर्यटनको अवस्था बिग्रिएको बताउनुभयो । अर्बौं लगानी गरेका व्यवसायीलाई सरकारले सहयोग गर्नुपर्ने भन्दै उहाँले पनि ब्याज र किस्तामा राहत दिन आग्रह गर्नुभयो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कोरोनाको कारण पर्यटन उद्योगमा ठूलो असर पुगेको बताउनुभयो । मुख्यमन्त्री गुरुङले कोरोनासँग भिड्न प्याकेजै ल्याउनुपर्ने अवस्था भएको बताउनुभयो । 

गण्डकी प्रदेशका उद्योग वन तथा वातावरण मन्त्री विकास लम्सालले व्यवसायीसँग समन्वय गरी प्याकेज ल्याउने तयारी गरेको बताउनुभयो । ‘राज्यलाई कर तिर्ने व्यवसायीले हो, उहाँहरू नै अहिले मारमा पर्नुभएको छ प्रदेशमा सरकारकातर्फबाट के कुराको सहयोग गर्न सकिन्छ हामी छलफलमा छौँ, सोही अनुसार सङ्घीय सरकारसँग अनुरोध गरी प्याकेजका रूपमा ल्याउन माग गर्ने छौँ’ मन्त्री लम्सालले भन्नुभयो ।  



प्रतिक्रियाहरु