राहत बितरणका तस्विर भित्र लुकेको सस्तो लोकप्रियता - सेबक पिसी

 

कोरोना भाइरसको संक्रमण नहोस् भनेर देशमा लक डाउन अर्थात देश पूर्ण बन्द छ ।  हवाई यातायात देखि साइकल सम्म चढ्ने होस् कि २-४ जना समुहमा हिंडडुल गर्दा होस् राज्यले लकडाउनको मर्म अनुसार देश ठप्प पारेको छ ।  हामि सबैलाई थाहा छ कि यस विषम परिस्थितिमा राज्यको दायित्त्व के हुन्छ र नागरिकको दायित्व के हुन्छ ? अहिले नेपालको परिदृश्यमा यदाकदा बाहेक नेपाली  जनताले राज्यलाई सहयोग गरेका छन्, यो महामारीबाट राज्य मर्नु हुन्न, राज्य मर्नु भनेको हामि नागरिक मर्नु हो भन्ने महान भावनाले सबै ओतप्रोत छन् भन्ने देखिन्छ ।  

कोरोना भाइरसको महामारीबाट हाम्रो जस्तो बिपन्नताले भरिएको देशमा गर्नु परेको लकडाउनका कारण मुख्य रुपमा मजदुरहरु जो दिनभरी काम गरेर बिहान बेलुकीको छाक टार्ने गर्दछन, तिनीहरुलाई मार परिरहेको अबस्थामा राज्यले बिपतको  समय भनेर राहत वितरणको पहिलो कार्यक्रम देश भरि सँचालन गरिरहेको छ ।  मानिसहरु त्यस राहतबाट लाभान्वित भईरहेका छन् ।  बिडम्बना के देखिन्छ भने राहत वितरण गर्ने क्रममा आफुलाई समाजको ठुलो ठालु हुँ,समाजको प्रतिनिधि हुँ, राजनीतिक नेता हुँ भन्नेहरुले राहत वितरण गर्दाका तस्विरहरु खिचेर सामाजिक संजालहरुमा आफु समाजसेवी भएको, यो पार्टीको मान्छेले राहत बाँडीरहेको जस्तो भान पार्ने खालका  प्रमाण पेश गरिरहेको देख्दा अचम्म लागेर आयो ।  बास्तबमा त्यसो गर्नु जायज हो जस्तो मलाई पिटिक्कै लाग्दैन ,किनकि राज्यले ति बिपन्न बर्गका मानिसहरुलाई २ छाक टार्नको लागि मद्दत गरेको हो ।  त्यो मद्दत कुनै ठुला ठालु, प्रतिनिधि या राजनीती  गर्नेलाई फोटो खिचेर समाजसेवीको चित्र पेश गर्न खटाएको पक्कै होइन, कुनै व्यक्तिको व्यक्तिगत लाभका लागि होइन ।  राज्यले एउटा कुरा वितरण गर भनेर सहयोग मागेको हुन सक्छ तर फोटो  शो गर भनेर भनेको हुँदैन ।  मलाई लाग्छ त्यसो गर्ने महाशयहरु  तस्विरका भोका हुन ।  

अर्कोतिर मजदुरहरुलाई त प्रतिदिन ज्याला नथापि मुखमा माड लगाउन गाह्रो परेको हुन्छ नै ,तर त्यो भन्दा माथि रहेको मध्यम बर्ग होस्, जो आफ्नो बारीमा उत्पादन गरेर जीविका चलाउने गर्छ, नोकरी गरेर जीवन धान्ने गरेको छ या धनि वर्ग होस् सबै सबैलाई  किनेर खाने ठाउँ चाहिन्छ, आपूर्ति सहज चाहिन्छ ।  यसको लागि पनि राज्यले ब्यबस्था गर्नु पर्छ, यो पनि एक खालको राहत हो ।  

यी र यस्तै खालका राहतहरुले आहत मिलेपछि नै देश र जनताको सम्बन्ध प्रगाढ बन्ने हो, अफ्ठ्यारोहरुसँग जुध्न मद्दत पुग्ने हो ।  समग्र राष्ट्रको हितलाई सर्वोपरी ठानी अहिलेको बास्तबिक महामारीको चंगुलबाट देश , जनता र सारा मानवजातिले कोरोना माथिको विजयउत्सव मनाउने हो ।  

अन्त्यमा, महाशयहरुलाई  हेक्का रहोस् कि गरिबको पनि इज्जत हुन्छ, ५ केजी चामल, १ पोका नुन, १ पोका तेल, १ केजी दाल, ५ प्याकेट चाउचाउ दिएर १० तिरबाट फोटो खिचेर सामाजिक संजालमा गरिबको धज्जि नउडाउनुस ।  यो कोरोना भाइरसको आतंक चलिरहेको असहज परिस्थितिमा तपाईंले फोटो प्रदर्शनी गर्दा तपाईंलाई महाशय तस्विरको भोको  बाहेक अरु भन्न मिल्दैन ।  

 

धन्यबाद !



प्रतिक्रियाहरु