Email : info@totalnewssewa.com

प्रदूषण नियन्त्रणको सारथी गिद्ध

भदौ १५- गिद्ध आफैले शिकार नगरी केवल मरेका प्राणीको सिनो मात्र खाने भएकाले वातावरणलाई प्रदूषण र दुर्गन्धरहित बनाउन यसको भूमिका महत्वपूर्ण छ । तथ्याङ्कअनुसार एउटा गिद्धले औसत एक वर्षमा कम्तीमा १२० किलो सिनो खाएर वातावरण सफा राख्न मद्दत गर्दछ । सिनोको कुशलतापूर्वक छोटो समयमै दोहन गर्ने गिद्धले भुस्याहा कुकुर, स्याल, मुसा र झिँगाको सङ्ख्यामा हुने वृद्धिलाई समेत न्यूनीकरण गर्ने विज्ञको भनाइ छ । परिणामत मानिसमा रेबिज, प्लेग, हैजा, आँऊ र झाडापखालाको माहामारी तथा पशुचौपायामा हुने एन्थ्रेक्स्, ब्रुसेलोसिस् र क्षयरोग जस्ता रोगको महामारीबाट बच्नसमेत मद्दत पुग्ने नेपाल पक्षी संरक्षण सङ्घका गिद्ध संरक्षण कार्यक्रम अधिकृत कृष्ण भुसालले बताउनुभयो । पारिस्थितिकिय प्रणाली सन्तुलनमा गिद्धको भूमिका महत्वपूर्ण छ । गिद्ध आफ्नो आहारा खोजीका लागि सयौं किलोमिटर क्षेत्रसम्म उड्ने गर्छ । गिद्धलाई प्रकृतिको कुचिकार भनिन्छ । वन तथा वातावरण मन्त्रालयले शुरु गरेको ‘नेपाल स्वच्छ वातावरण महाअभियान, २०७५’ कार्यावन्यनमा गिद्ध र यसको संरक्षणमा भएका प्रयास सहयोगी बन्नसक्ने कार्यक्रम अधिकृत भुसालले बताउनुभयो । यही भदौ १६ गते दशौं अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस नेपालका साथै संसारभर मनाइँदै छ । दक्षिण अफ्रिकामा सन् २००५ देखि नै मनाइँदै आएको राष्ट्रिय गिद्ध सचेतना दिवस विकसित भई सन् २००९ देखि अन्तर्राष्ट्रिय दिवसको रुपमा मनाउन थालिएको हो । सो दिवसमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सरोकारवाला सङ्घ संस्थासँगको सहकार्यमा विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने जनाएको छ । यस अवसरमा गिद्धको घना वासस्थान र आसपासका क्षेत्रमा स्थानीय समुदाय, सरकारी निकाय, संरक्षण संस्था र विद्यालयको साझेदारीमा विभिन्न कार्यक्रम गरिने विभागले जनाएको छ । नेपालले गिद्ध संरक्षणका लागि चितवन राष्ट्रिय निकुञ्जमा गिद्ध प्रजनन केन्द्र स्थापना गरी विभिन्न संस्थाको सहयोगमा वासस्थान संरक्षणसमेत गर्दै आएको छ । गिद्ध संरक्षणका चुनौती सन् १९९० को दशकसम्म नेपाल सहित दक्षिण एशियामा उल्लेख्य पाइने गिद्धको संख्या अहिले घटेर लोपोन्मुख अवस्थामा पुगेको छ । नेपाल, भारत, बङ्गलादेश र पाकिस्तानमा गरिएको वैज्ञानिक अनुसन्धानले गिद्धको सङ्ख्यामा ह्रास आउनुको प्रमुख कारण पशु उपचारमा प्रयोग गरिने ‘डाइक्लोफेनेक’ औषधि भएको पुष्टि भएको छ । यसैलाई मध्यनजर गरी सरकारले सो औषधिलाई २०६३ साल जेठ २३ गतेदेखि पशु उपचारका लागि उत्पादन, प्रयोग र बिक्री वितरणमा प्रतिबन्ध लगाएको विभागका सूचना अधिकारी नारायण रुपाखेतीले जानकारी दिनुभयो । हाल ४६ जिल्लामा गिद्धको वासस्थानलाई विषादीरहित घोषणा गरिएको छ । सङ्घले गरेको स्थलगत अध्ययनअनुसार सन् २००२ देखि २०११ सम्म गिद्धको सङ्ख्या ९१ प्रतिशतले घटेको देखिए पनि पछिल्लो समयमा गिद्धको सङ्ख्या हस दरमा कमी आइ स्थिर रहेको छ । अझै पनि गिद्ध संरक्षणमैत्री वातावरण बन्न नसक्दा संरक्षणमा चुनौती रहेको सङ्घका प्रमुख कार्यकारी अधिकृत इशाना थापाको भनाइ छ । आहारको खोजीमा टाढा टाढासम्म यात्रा गर्ने गिद्ध संरक्षणका लागि एक देशले मात्र काम गरेर सुनिश्चित नहुने भएकाले यसमा अन्तरदेशीय सहकार्यको खाँचो रहेको उहाँले बताउनुभयो । विभागले गिद्ध संरक्षण गरी पर्यावरणीय सन्तुलन र वातावरणीय स्वस्थता कायम गर्न ‘गिद्ध संरक्षण कार्ययोजना सन् २००९—२०१३’ को सफल कार्यान्वयन पश्चात् दोस्रो पञ्चवर्षीय कार्ययोजना सन् २०१५–२०१९ लागू गरेको छ । कार्ययोजनाले गिद्धको सुरक्षित खाना र उपयुक्त वासस्थानको संरक्षणमार्फत गिद्धको सङ्ख्यामा वृद्धि गर्ने दिशामा कार्य गर्दै आएको विभागका सूचना अधिकारी रुपाखेतीले बताउनुभयो । विश्वमा २३ प्रजातिका गिद्ध पाइन्छन् । नेपालमा पाइने नौ प्रजातिका गिद्धमध्ये डङ्गर, सानो खैरो र लामो ठूँडे गिद्ध अति सङ्कटापन्न अवस्थामा छन् । ‘जटायु रेस्टुरेन्ट’ पर्यटकीय गन्तव्य बन्दै लोपोन्मुख अवस्थामा पुगेको गिद्ध बचाउने अभियानअन्तर्गत नेपालमा सर्वप्रथम सन् २००६ मा नवलपरासीको पिठौलीमा समुदायद्वारा सञ्चालन गरिएको विश्वकै पहिलो ‘जटायु रेस्टुरेन्ट’ स्थापना गरिएको थियोे । लोपोन्मुख अवस्थामा पुगेका गिद्धलाई विषादीरहित आहार उपलब्ध गराइ संरक्षण गर्ने उद्देश्यले समुदायस्तरबाटै सञ्चालन र व्यवस्थापन गरिएका यस्ता रेस्टुरेन्ट पछिल्लो समयमा पर्यटकीय दृष्टिले आकर्षक बन्दै गएका छन् । जटायु रेस्टुरेन्टको स्थापनापछि गिद्धको सङ्ख्या बढेकोे जानकारी दिँदै नवलपरासी जटायु रेस्टुरेन्ट व्यवस्थापन समितिका संयोजक डिबी चौधरीले पछिल्लो समयमा गिद्धका क्रियाकलाप हेर्न र अनुसन्धान गर्नसमेत पर्यटक आउने क्रम बढेको बताउँनुभयो । नवलपरासी ‘जटायु रेस्टुरेन्ट’को सफलतापछि रुपन्देहीको गैडहवा ताल, दाङको लालमटिया र बिजनौरी, कैलालीको खुटिया, कास्कीको घाँचोक र सुनसरीको रामधुनीमा त्यस्ता रेस्टुरेन्ट स्थापना गरिएका छन् । जटायु रेष्टुरेन्टले एकातिर वृद्ध र छाडा चैपायाको रेखदेख गरी पशु कल्याणकारी र लोपोन्मुख गिद्ध बचाउने काम गरेका छन् । त्यस्तै वातावरण स्वच्छ राख्न, पर्या–पर्यटन प्रवद्र्धन र अनुसन्धान केन्द्रको रुपमा विकसित हुदैछन् । यसरी खोलिएका रेस्टुरेन्टमा गौरक्षा केन्द्र हुन्छन् जहाँ किसानबाट वृद्ध, अशक्त, बेकामी गाईवस्तु सङ्कलन गरी पालनपोषण गरिन्छ । रेस्टुरेन्टमा राखिएका गाईगोरुको प्राकृतिक मृत्युपश्चात् गिद्धको आहारका लागि निश्चित स्थानमा राखिन्छ । जहाँ गिद्ध आएर खान्छन् । त्यहाँ गिद्धको आनीबानी नजिकबाट लुकेर हेर्ने पर्यटक अवलोकन घर पनि बनाइएको हुन्छ ।



प्रतिक्रियाहरु