Email : info@totalnewssewa.com

बिमस्टेक सम्मेलन आजदेखि, पाहुना आउने क्रम जारी

भदौ १४- बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को चौंथो शिखर सम्मेलन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । भोलिसम्म चल्ने यस सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । सम्मेलनमा सहभागी हुन राष्ट्रप्रमुख तथा सरकार प्रमुख काठमाडौं आउने क्रम जारी छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी साढे ८ बजे आउने कार्यक्रम रहेको छ । बंगलादेशकी प्रधानमन्त्री शेख हसिना बिहान ९ बजेर १५ मिनेटमा विमानस्थल आइपुग्ने कार्यक्रम रहेको छ । थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चान वचा शेख आएको एक घन्टा पछाडि १० बजेर १५ मिनेटमा काठमाडौं आइपुग्ने कार्यक्रम रहेको छ । सम्मेलनको उद्घाटन दिउँसो ३ बजे गरिने कार्यक्रम रहेको छ । होटल सोल्टीमा हुने सम्मेलनमा सदस्य राष्ट्रका सरकार र राष्ट्रप्रमुखले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । यसैबीच बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को क्षेत्रीय साझेदारी प्रक्रिया थप मजबुद हुने भएको छ । काठमाडौं घोषणापत्रसँगै ग्रिड इन्टरकनेक्सन र बिमस्टेक चार्टर निर्माण प्रक्रिया पनि अगाडि बढ्ने भएपछि संगठन विस्तारको प्रतिवद्धता खाजेको बिमस्टेकले सार्थकता पाउने भएको हो । बुधबार सम्पन्न बिमस्टेकको १६ औं मन्त्रीस्तरीय बैठकले बिमस्टेक शिखर सम्मेलनको काठमाडौं घोषणापत्रको मस्यौदालाई सदस्य राष्ट्रका प्रतिनिधिलाई अनुमोदनका लागि प्रस्तुत गर्नुका साथै ग्रिड इन्टरकनेन्सन सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर गर्न आफूहरु तयार भएको निष्कर्ष निकालेको हो । यससँगै बिमस्टेक राष्ट्रहरु आपसी सहकार्यमा एक कदम नजिक हुने भएका हुन् । यसअघि मंगलबार सम्पन्न वरिष्ठ पदाधिकारी बैठकले बिमस्टेकको बडापत्र बनाउन सुझाव दिइसकेको छ । बुधबारको बैठकमा मन्त्रीहरुले प्राथमिकता क्षेत्र निर्धारणमा गतवर्ष काठमाडौंमा भएको मन्त्रीस्तरीय बैठकपछि भएका प्रगतिको समीक्षा पनि गरेको थियो । समीक्षाले त्यसयताको उपलब्धिलाई सन्तोषजनक मानेको छ । बिमस्टेक सडक कनेक्टिभिटि गुरुयोजना यही वर्षको सेप्टेम्बरभित्रै तयार हुने भएको छ । बिमस्टेकका महासचिव साहिदुल इस्लामले यसबारे जानकारी गराएका हुन् । बुधबार बिमस्टेकको मन्त्रीस्तरीय बैठकमा बिमस्टेक राष्ट्रबीच हुने नयाँ समभदारीको अन्तिम मस्यौदा बारे जानकारी गराए । बिमस्टेकको भन्सार सुधारसम्बन्धि आपसी सहयोग तथा सहकार्यको समझदारी, बिमस्टेक मोटर भेइकलसम्झौता, बिमस्टेक तटीय पानीजहाज सम्झौता, व्यापार सहजिकरण सम्झौताको मस्यौदामा छिट्टै सहमतिमा पुग्ने विश्वास गरिएको छ । बिमस्टेकका महासचिव साहिदुलले बुधबारको बैठकमा यी सम्झौता निर्माणका प्रगति प्रस्तुत गरेका थिए । साहिदुलले बिमस्टेक फ्रि टेड एरिया सम्झौता कार्यान्वयनमा ल्याउन २० पटक छलफल भइसकेको पनि जानकारी गराए । बिमस्टेक सदस्य राष्ट्रबीच फ्रि टेड एरिया सञ्चालन गर्ने सम्झौतामा २००४ मा हस्ताक्षर भएको थियो । यसैगरी बिमस्टेक संस्थागत सुधारका लागि बिमस्टेक बंगलादेशमा स्थायी सचिवालय, भुटानमा सांस्कृतिक उद्योग अवलोकनस्थल र भारतमा मौसम र जलबायु केन्द्र निर्माण गरिसकिएको छ भने बिमस्टेक ऊर्जा केन्द्र र बिमस्टेक प्रविधि स्थानान्तरण सुविधा पनि चाँडै नै सञ्चालनमा आउने भएको छ । बैठकमा सहभागी मन्त्रीहरुले विगतका उपलब्धिको प्रशंसा गर्दै संगठनका विविध गतिविधि कार्यान्वयन गर्न व्यापक सहकार्यको आवश्यकता औंल्याएका थिए । बिमस्टेकलाई अझै प्रभावकारी बनाउन सहकार्यको क्षेत्र पुनः प्राथमिकीकरण गर्नुपर्नेमा उनीहरुको जोड थियो । बिमस्टेकको मन्त्रीस्तरीय बैठकले बिमस्टेकको १४ वटा सहकार्यका क्षेत्रमा भएका प्रगतिअवस्था तथा उपलब्धिबारे पनि छलफल गरेको छ । बैठकले चौथो शिखर सम्मेलनका एजेन्डा तय गरेको छ । यसैगरी ग्रिड इन्टरकनेक्सन सम्बन्धि समझदारीपत्रको अन्तिम मस्यौदामा हस्ताक्षर गर्न सदस्य सबै राष्ट्र तयार रहेको निष्कर्षले बिमस्टेकमा अवबद्ध सात मुलुकबीच विद्युत् व्यापार तथा क्षेत्रीय रूपमा ऊर्जाको आदानप्रदान हुने बाटो खुलाएको छ । बिमस्टेकका सदस्य सातै देशका परराष्ट्र मन्त्री सम्मिलित उक्त बैठकको समझदारीपछि सबै सदस्य मुलुक अन्तरदेशीय विद्युत् प्रसारण लाइन सञ्जालमा जोडिने पक्का भएको हो । यसैबीच नेपालले बिमस्टेकको मन्त्रीस्तरीय बैठकको अध्यक्षता श्रीलंकालाई हस्तान्तरण गरेको छ । नेपाल हाल बिमस्टेकको अध्यक्ष राष्ट्र हो । सत्रौं बिमस्टेक मन्त्रीस्तरीय बैठक पनि श्रीलंकामा बस्दैछ ।



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु