आज रक्षाबन्धन तथा जनै पुर्णिमा पर्व मनाइँदै

साउन -१९  पुरोहितद्वारा नाडीमा डोरो बाँधेर र जनै फेरेर आज (सोमबार) नेपालमा रक्षबन्धन पर्व मनाइँदैछ । यस दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँध्ने चलन र संस्कार पनि रहेको छ । प्रत्येक वर्ष साउन शुक्ल पूर्णिमाका दिन चुडाकर्म गरेका आम तागाधारीले नूतन यज्ञोपवित अर्थात् जनै फेरेर मन्त्रोच्चारण गरिएको रक्षासूत्र बाँधेर रक्षाबन्धन पर्व मनाउने गर्छन् । जनै फेर्नका लागि अघिल्लो दिन नै केश मुन्डन गरेर एकछाक भोजन गर्ने चलन छ । गोबर र तुलसी रोपिएको माटो लगाई नदी वा तलाउ कुण्डमा स्नान गरेर जनै फेर्ने र रक्षाबन्धन लगाउने प्रचलन छ । चुडाकर्म गरेका वा नगरेका सबैले यो दिन पुरोहितद्वारा नाडीमा डोरो बाँध्ने प्रचलन छ । हिन्दुशास्त्र अनुसार जनैलाई ब्रह्मासूत्र वा ज्ञानको धागोका रूपमा श्रद्धा गरिएको छ । जनैको छ शिखामध्ये तीनलाई ब्रह्मा, विष्णु, महेश्वर र अर्को तीनवटालाई ज्ञान, कर्म, योगका रूपमा मानिएको छ । राक्षसद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरेर जोगाएको पाइन्छ । त्यसैगरी वामन अवतार विष्णुले राजा वलीलाई मन्त्र साँधिएको डोरी बाँधेर वचनबद्ध गराएर तीनै लोक लिएको धार्मिक किंवदन्ती योसँग पनि जोडिएको छ । जल, कुश तिलद्वारा सप्तऋषि काश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, वशिष्ठ र विश्वामित्रलाई तर्पण दिइने भएकाले यस दिनलाई ऋषितर्पणी पनि भन्ने गरिन्छ । तर यस वर्ष कोरोना भाइरसका कारण जमघट गरेर हर्षोल्लासका साथ रक्षाबन्धन बाँध्ने र जनै फेर्ने काम गर्न चुनौती थपिएको छ । बाग्मती अञ्चल आयुर्वेद औषधालयका चिकित्सक डा. अञ्जु कार्कीले स्नानका लागि नदी, तलाउ, कुण्ड, घाट, त्रिवेणीमा स्नान गर्दा कोरोना संक्रमण सर्न सक्ने भएकाले यस्ता जमघटबाट बच्नु पर्ने सुझाव दिएकी छन् । घरघरमा क्वाँटी खाइँदै जनै पूर्णिमाको दिन घरघरमा क्वाँटी खाने प्रचलन छ । नेवार समुुदायमा रहेको यो प्रचलन अहिले सबैतिर लोकप्रिय बनेको छ । खेती किसानी गर्नेलाई बढी पौष्टिक आहार चाहिने भएकाले क्वाँटीको विशेष महत्व रहने संस्कृतिविद् सत्यमोहन जोशीले बताए । खेतीपातीले थकित शरीरमा ऊर्जा ल्याउन र चिसो भगाउन क्वाँटी खाने गरिन्छ । मास, भटमास, मस्याम, हरियो, सेतो केराउ, सानो केराउ, कालो चना, सेतो चना, सिमी, बोडी, बकुल्ला, मुङलगायतका गेडागुडीको मिश्रण नै क्वाँटी हो । क्वाँटीबाट पूर्ण प्रोटिन पाइने पोषणविद् डा. अरुणा उप्रेतीले बताइन् । आयुर्वेदविज्ञ डा. हेमकुमारी अधिकारी कोरोना संक्रमणको महामारी बढ्दो क्रममा रहेकाले सबैलाई रोग प्रतिरोधात्मक खाने कुरा चाहिने र त्यसको काम क्वाँटीले पूूरा गर्ने बताउँछिन् । Worldlink landing page



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु