नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १५ जनाको मृत्यु, थप ३४३९ मा संक्रमण,११२६ जना डिस्चार्ज

असोज २१- नेपालमा बुधबार एकैदिन ३ हजार ४ सय ३९ जना कोरोना भाइरसका संक्रमित थपिएसँगै देशभरी सक्रिय संक्रमितको संख्या २५ हजार नाघेको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभरी सक्रिय संक्रमितको संख्या २५ हजार ७ जना पुगेको छ । संस्थागत आइसोलेसनमा १० हजार ५ सय ९६ र होम आइसोलेसनमा १४ हजार ४ सय ११ जना संक्रमित उपचाररत रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो ।

 

यसअघि मन्त्रालयले २५ हजार संक्रमित पुगेमा लक डाउन गर्न सकिने गरी निर्णय गर्न सिफारिस गरेको थियो । प्रवक्ता डा. गौतमका अनुसार आज आइसियुमा २ सय ३३ र भेन्टिलेटरमा ३७ जना संक्रमित उपचाररत रहेका छन ।नेपालमा कोरोनाबाट थप १५ जनाको मृत्यु भएको छ ।

 

५ महिला र १० पुरुष गरी आज १५ जनाको मृत्यु भएको हो । मन्त्रालयका अनुसार उपत्यकामा दुई महिला सहित ७ जनाको मृत्यु भएको छ । काठमाडौंमा ६६ र ७२ वर्षीया महिलाको मृत्यु भएको छ । यस्तै ४५ वर्षिय पुरुष, ५३ वर्षीय पुरुष, ६४ वर्षीय पुरुष र ६९ वर्षीय पुरुषको मृत्यु भएको छ । यस्तै ललितपुरमा ४६ वर्षीय र मोरङमा ४० र ६० वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

 

यसैगरी चितवनमा ४६ वर्षीय पुरुष, रुपन्देहीमा ५५ वर्षीय र नवलपरासीमा ७६ वर्षीय पुरुषको मृत्यु भएको छ । सिराहामा ५० वर्षीया महिला रौतहटमा ७२ र दाङमा ७१ वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ७८ पुगेको छ ।

 

१४ हजार २ सय ९ पीसीआर परीक्षण भएकोमा १२ सय ६१ महिला र २१ सय ७८ जना पुरुषमा संक्रमण देखिएको छ । काठमाडौं उपत्यकामा मात्रै १६ सय ९४ जनामा संक्रमण देखिएको छ । काठमाडौंमा १ हजार २ सय ९६, ललितपुरमा २ सय ९२ र भक्तपुरमा ९५ जनामा संक्रमण देखिएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ९४ हजार २ सय ५३ पुगेको छ ।आज ११ सय २६ संक्रमित निको भएर घर फर्किएका छन । देशभरी ६८ हजार ६ सय ६८ जना संक्रमित निको भएर घर फर्किएका छन ।



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु