कोरोनाविरुद्धको खोप लगाउन सुरु गर्ने र खोप स्वीकृति दिने देश

१. बेलायतः बेलायत विश्वमै सबैभन्दा पहिले कोरोनाविरुद्धको खोप मानिसमा प्रयोगका लागि अनुमति दिने राष्ट्र हो। बेलायतमा गत डिसेम्बर २ देखि कोरोना खोप कार्यक्रम सुरुवात भएको छ। यहाँ अमेरिकी कम्पनी फाइजर र जर्मन कम्पनी बायोएनटेकले निर्माण गरेको खोप प्रयोगका लागि स्वीकृति दिइएको छ। यो खोप ९५ प्रतिशत प्रभावकारी भएको बताइएको छ।

२. रुसः बेलायतले मानिसमा कोरोनाविरुद्धको खोप लगाउने स्वीकृति प्रदान गरेको भोलिपल्टै रुसले पनि आफ्नो खोप ‘स्पुतनिक–भी’लाई प्रयोगका लागि स्वीकृति दिएको थियो। रुसले राजधानी मस्कोबाट कोरोना खोप कार्यक्रम सुरुवात गरेको छ। यस खोप पनि ९५ प्रतिशत प्रभावकारी भएको बताइएको छ।

३. अमेरिकाः अमेरिकामा सोमबारदेखि कोरोना खोप कार्यक्रम सुरु भएको छ। एक नर्सलाई खोप प्रदान गर्दै अमेरिकाले कोरोना खोप कार्यक्रम सुरुवात गरेको हो। न्युयोर्ककी नर्स सान्द्रा लिन्ड्सेले एफडीएले स्वीकृति प्रदान गरेको फाइजर र बायोएनटेकको खोप लगाएको बीबीसीले जनाएको छ।

४. क्यानडाः क्यानडाले आफ्नो देशमा फाइजरको खोपलाई स्वीकृति दिएको छ। त्यहाँका प्रधानमन्त्री जस्टिन ट्रुडोले यसै महिनादेखि फाइजरको खोप क्यानडा भित्रिने बताएका छन्।

५. बहराइनः बहराइनले फाइजर र बायोएनटेकको खोपलाई देशमा प्रयोगका लागि स्वीकृति प्रदान गरेको छ। यस्तै बहराइनले सोमबार मात्र चिनियाँ सिनोफार्मको ८६ प्रतिशत प्रभावकारी सावित भएको खोपलाई पनि स्वीकृति प्रदान गरेको थियो।

६. साउदी अरबः साउदी अरबले फाइजर र बायोएनटेको खोप प्रयोगका लागि स्वीकृति दिइसकेको छ।

७. सिंगापुरः सिंगापुरले पनि फाइजर र बायोएनटेकको खोप प्रयोगका लागि स्वीकृति दिएको छ। त्यहाँका प्रधानमन्त्री लि सिन लङले यसै महिनाको अन्तिमबाट खोप लगाउने कार्यक्रम सुरु हुने बताएका छन्।

८. दक्षिण कोरियाः दक्षिण कोरियाले चार करोड ४० लाख नागरिकका लागि कोरोनाविरुद्धको खोप खरिद गर्ने बताएको छ। कोरियाले फाइजर, एस्ट्राजेनिका र मोडेर्नाबाट समान २ करोड २० लाख डोज खोप खरिद गर्नेछ भने जोन्सन एन्ड जोन्सनबाट ४० लाख डोज खोप खरिद गर्नेछ। साथै एक करोड डोज खोप भने दक्षिण कोरियाले विश्व स्वास्थ्य संगठनको कोभ्याक्स योजनाबाट प्राप्त गर्नेछ।

९. जापानः जापानले फाइजर र बायोएनटेकसँग गत जुलाईमै खोप प्राप्त गर्नका लागि सम्झौता गरेको थियो। यतिबेला फाइजरको खोप प्रयोग हुन थालिसकेको छ। जापानले चाँडै यो खोप प्राप्त गर्ने अनुमान गरिएको छ। जापानले बेलायती एस्ट्राजेनिका र अमेरिकी मोडेर्नाबाट पनि खोप मगाएको छ।

१०. अर्जेन्टिनाः अर्जेन्टिनामा राष्ट्रपति अल्बेर्तो फर्नान्डेजले रुससँग कोरोना खोपबारे स्वीकृति भएको बताएका छन्। आगामी जनवरी र फेब्रुअरीबाट अर्जेन्टिनामा रुसबाट स्पुतनिक भी खोप आयात हुनेछन्।

११. इन्डोनेसियाः इन्डोनेसियामा सिनोभ्याक बायोटेकको खोप गतहप्ता नै आपूर्ति भइसकेको छ। अब चाँडै त्यहाँ पनि खोप लगाउन सुरु गरिनेछ।

यी बाहेक विश्वमा अन्य देशहरुले पनि कोरोनाविरुद्ध प्रभावकारी सावित भएका खोपहरुलाई स्वीकृति दिने कार्य चलिरहेको छ।



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु