नेपालमा सोमबार एकैदिन थप तीन जनाको मृत्यु , ६२६ जना डिस्चार्ज र १३ ९ जना संक्रमित थपिए

साउन १२- कोरोना भाईरस(कोभिड–१९)को संक्रमणबाट सोमबार थप तीन जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गरी बारा, पर्सा र धुनषामा एक–एक जनाको मृत्यु भएको जनाएको छ।

पर्साको वीरगञ्ज महानगरपालिका–१० मा ६५ वर्षीय पुरुषको संक्रमणबाट मृत्यु भएको छ। ती भारतीय नागरिकको ११ साउनमा मृत्यु भएको मन्त्रालयले जनाएको छ। गण्डक मेडिकल कलेजमा उपचारत उनको मृत्यु भएको हो। संक्रमित मुटु रोगी थिए।

धनुषामा पनि ३६ वर्षीय पुरुषको संक्रमणबाट मृत्यु भएको छ। १० साउनमा जनकपुर प्रादेशिक अस्पतालमा भर्ना भएका ती पुरुषमा ज्वरो, खोकी लगायत लक्षण देखिएको थियो। प्रादेशिक अस्पताल भर्ना भएका ती संक्रमितलाई धरान लैजाने क्रममा ११ साउनमा बाटोमै मृत्यु भएको हो।

बाराका ६० वर्षीय पुरुषको भने काठमाडौंमा मृत्यु भएको छ। त्रिभुवन शिक्षण अस्पतालमा उपचारत उनको आज मृत्यु भएको हो। ती संक्रमितलाई निमोनिया भएको थियो। यो सहित नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ।

सोमबार ६२६ जना संक्रमित निको भएर घर फर्किएका छन्। यो सहित निको हुने संक्रमित संख्या १३ हजार ७५४ पुगेको छ। सोमबार १३९ जनामा संक्रमण पुष्टि भएको छ। सोमबार थपिएको सहित संक्रमित संख्या १८ हजार ७५२ पुगेको छ। सोमबारसम्म उपचारत संक्रमित संख्या चार हजार ९५० छ।



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु