चार वर्षपछि खुल्यो तातोपानी नाका

जेठ १५- भूकम्पपछि पूर्णरुपमा बन्द रहेको नेपाल चीन जोड्ने तातोपानी नाका बुधबारबाट पुनः सञ्चालनमा आएको छ। भूकम्पले ध्वस्त बनाएका संरचनाको पुर्ननिर्माणसँगै नेपाल चीन जोड्ने पहिलो नाका बुधबारबाट पुनः सञ्चालनमा ल्याइएको हो ।

 

       नेपालका उद्योग वाणिज्यमन्त्री मातृका यादव तथा चीन सरकारका वाणिज्य उपमन्त्री झाङ जिवेनको उपस्थिमा औपचारिक रुपमा नाका सञ्चालनमा आएको घोषणा गरिएको हो। नाका सञ्चालनको औपचारिक उद्घाटन गर्न हालै पुर्ननिर्माण गरिएको मितेरी पुलमा आयोजित कार्यक्रममा दुई मुलुकका वाणिज्य मन्त्रीसहित तिब्बत प्रदेशका अध्यक्ष झि हाला, जिल्लाका सांसदद्वय अग्नीप्रसाद सापकोटा र शेरबहादुर तामाङ, प्रदेश सरकारका उद्योगमन्त्री अरुण नेपाल, सामाजिक विकाकमन्त्री युवराज दुलाल, नेपालका लागि चिनिया राजदुत हाउयाङ छी लगायतले रिवन काटेर नाकाको उद्घाटन गरेका थिए।

 

       बुधबार खासाबाट अन लोड गरिएका चारवटा कन्टेनर नेपाल प्रवेश गरेका छन्। मितेरी पुलबाट कन्टेनर नेपालतर्फ प्रवेश गर्दा आतसबाजी गरेर स्वागत गरिएको थियो। नेपालबाट दुई कन्टेनर ह्यान्डी क्राफ्टका सामान निर्यात भएका छन्। तत्कालका लागि सामान आयात निर्यातका लागि मात्र नाका सञ्चालनमा ल्याइएकाले अन्य सर्वसाधारण आवतजावतका लागि केही समय पर्खनुपर्ने बताइएको छ।

 

       नाका सञ्चालनका क्रममा सीमामा आयोजित कार्यक्रममा मन्त्री यादवले नेपाल चीन सम्बन्ध व्यापारमा मात्र सीमित नभएर कुट्नीतिक, आर्थिक, सांस्कृतिक र सामाजिक रुपमा समेत स्थापित भएकाले यो नाका सञ्चालनले सम्बन्धमा थप आयाम विस्तार भएको धारणा राखे‍।

 

       उनले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको उल्लेख गर्दै नेपालका भूमीमा कुनै प्रकारका चीन बिरोधी गतिविधि हुन नदिने बताए। नाका बन्द भएसँगै नेपाली र सीमा क्षेत्रका बासिन्दाको हराएको खुसी नाका सञ्चालनसँगै फर्किएको उनले बताए। 'नाका सञ्चालनले दुई देशबीचका जनताको सम्बन्ध अझ मजबुत हुनेछ, 'मन्त्री यादवले भने, 'यो नाका ऐतिहासिक र सांस्कृतिक महत्व बोकेकाले नाका सञ्चालनले दुई देशका नागरिकको सम्बन्धमा समेत महत्व राख्नेछ।'

 

       चीन सरकारका वाणिज्य उपमन्त्री झाङ जिवेनले नाका सञ्चालनले दुई देशबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरे। उनले भूकम्पपछि चीन सरकारले नेपाललाई गरेको सहयोग स्मरण गर्दै आगामी दिनमा पनि नेपालको विकासका लागि चिनिया सरकारको सहयोग निरन्तर रहने प्रतिवद्धता जनाए।

 

       तातोपानी भन्सार प्रमुख कृष्ण बस्नेतका अनुसार पूरानो भन्सार कार्यालयको लिपिङमा कन्टेनर शिल गरी छ किलोमिटर तल लार्चामा नवनिर्मित सुख्खा बन्दरगाहमा सामान जाँच गरी पठाउने व्यवस्था मिलाइएको छ।

 

       चीन सरकारको सहयोगमा २० करोड रुपैयाँ (आठ दशमलव ६२ करोड युआन) को लागतमा सुविधासम्पन्न सुख्खा बन्दरगाहको निर्माण पनि हालै सम्पन्न भएको हो। भूकम्पपछि बन्दरगाहसँगै छ किलोमिटर सडक र मितेरी पुलको चिन सरकारले पुर्ननिर्माण गरेको थियो। बाह्रबिसेदेखि लार्चा सम्मको सडक सडक डिभिजन कार्यालय दोलखाले मर्मत गरेको हो।

 

       तातोपानी नाका सञ्चालनले व्यवसायीमा मात्र नभएर स्थानीयमा समेत खुसीयाली छाएको सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका अध्यक्ष बेदबहादुर श्रेष्ठले बताए। नाका नियमित सञ्चालन हुनासाथ व्यवसाय सुरु गर्न व्यवसायी आतुर रहेको उनले बताए।'लामो समयको प्रतिक्षापछि नाका सञ्चालन भएको छ हामी व्यापार सुरु गर्छौं,'अध्यक्ष श्रेष्ठले भने।



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु